चार देशीय टी-२० : नेपालको विजयी सुरुवात, कतार ८ विकेटले पराजित

चार देशीय टी-२० : नेपालको विजयी सुरुवात, कतार ८ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ ।

बुधबार टस जितेर फिल्डिङ रोजेको नेपालले कतारलाई निर्धारित २० ओभरमा १५१ रनमा रोकेको थियो । त्यसक्रममा कतारले ५ विकेट गुमाएको थियो ।

१५२ रनको विजयी लक्ष्य पछ्यउँदै ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाएर लक्ष्य पूरा गरी ८ विकेटको जित निकालेको हो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलको सामना गर्दै ३८ रन जोडे भने आशिफ शेखले २१ बलमा ३३ रन बनाए । कप्तान रोहित पौडेल २९ बल खेलेर ३७ रनमा नटआउट रहँदा ३३ बल खेलेका बसिर अहमद ३० रनमा नटआउट रहे ।

कतारका लागि मुजिबुर रहमानले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अन्य बलहरूले कुनै पनि विकेट लिन सकेनन् । नेपालविरुद्ध कतारले ७ जनालाई बलिङ गराएको थियो ।

नेपालका लागि करण केसीले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर १ विकेट लिए । त्यस्तै सोमपाल कामीले पनि ४ ओभर बलिङ गर्दा २७ रन दिएर १ विकेट लिँदा समान ओभर बलिङ गरेका नन्दन यादवले २८ रन दिएर १ विकेट लिए । गुल्सन झा र ललित राजवंशीले भने २र२ ओभर बलिङ गर्दै १र१ विकेट लिए । गुल्सनले २४ रन खर्चिए भने राजवंशीले १२ रन मात्र दिए । उता ४ ओभर बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले २६ रन खर्चिए पनि विकेटविहीन रहे ।

हङकङमा जारी प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत र कतारबीच खेल हुनेछ । यी चार टिमले एकअर्कासँग खेल्नेछन् भने शीर्ष स्थानमा रहेका दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।