काठमाण्डु– नेपाली कांग्रेसले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता प्रकाशरण महतले सत्ता गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने बताए।
उनले भने,‘सरकारको परफरमेन्स अझ राम्रो हुनुपर्छ, गठबन्धन दलबीच बढी समन्वय हुनुपर्यो र सन्तुलन हुनुपर्यो,’ अझ सशक्तरुपमा सरकारले डेलीभरी दिनसक्नु पर्दछ र तालमेल राम्रो मिल्नुपर्दछ भन्ने कुरामा साथीहरुले कुराकानी राख्नुभयो।’
प्रवक्ता महतले नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्ने बताउँदे भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस्। त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ।’
यस्तै उनले प्रमुख प्रतिपक्षी दलले सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्नु स्वभाविक भएको बताए ।




प्रतिक्रिया