काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने वा नढल्ने विषयमा चिन्ता नलिई आफ्नो काममा लाग्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दल नेता समेत रहेका ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेका जवाफ दिए ।
थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको उनले बताए । उनले भने, ‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेर पछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर ।’
उनले एमाले सांसदलाई सरकारको चिन्ता नगरी आफ्नो काम गर्न निर्देशन दिए । उनले भने, ‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो ? त्यो बुझ्दिनँ ।’




प्रतिक्रिया