काठमाण्डु- भारतको कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत पाकिस्तानबीच तनाव चुलिएको छ ।
भारत–प्रशासित कश्मीरको पहलगाममा ९ वैशाखमा एक नेपालीसहित २८ पर्यटकको हत्या भएको घटनामा भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ । यो घटनापछि दुई आणविक शक्ति राष्ट्रबिच युद्धको खतरा बढेको छ ।
तनाव चुलिएपछि पाकिस्तानी सेनाले शनिबार ‘अब्दाली क्षेप्यास्त्र’ को सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्रले ४५० किलोमिटर (२७९ माइल) सम्म प्रहार गर्न सक्छ । ‘यो परीक्षण सेनाको कार्यक्षमता र क्षेप्यास्त्रको प्राविधिक पक्ष जाँच्न गरिएको हो,’ सेनाले भनेको छ ।
तर परीक्षण कहाँ गरिएको हो, त्यसको जानकारी दिइएको छैन । यो परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको जवाफमा सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणापछि भएको हो ।
पाकिस्तानले आक्रमणमा संलग्नता नरहेको भन्दै स्वतन्त्र छानबिनको माग गरिरहेको छ । यसै साता उसले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो । दिल्लीबाट हुने कुनै पनि आक्रामक कदमको जवाफ दिने प्रतिबद्धता इस्लामावादले दोहोर्याएको छ ।
कश्मीरको विषयमा पटक–पटक युद्ध लडेका भारत र पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न आग्रह पनि गरेको छ । चीनले संयमता अपनाउन र तत्काल आक्रमणको छानबिन गर्न भन्दै आएको छ । उसको बयानले पाकिस्तानप्रति झुकाव देखिन्छ ।
युरोपेली संघले पनि अवस्थालाई गम्भीर र चिन्ताजनक भन्दै प्रतिक्रिया दिएको छ । उता अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई क्षेत्रीय द्वन्द्व नहुने गरी प्रतिक्रिया दिन र पाकिस्तानलाई आतंककारी नियन्त्रण गर्न आग्रह गरेका छन् । अमेरिकाले पहलगाम हमलाको निन्दा गर्दै भारतप्रति समर्थन जनाएको छ । तर पाकिस्तानको स्पष्ट आलोचना भने अमेरिकाले गरेको छैन ।
पाकिस्तानी विश्लेषकहरूले पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई भारत र विश्वका लागि चेतावनीका रूपमा हेरेका छन् । ‘यसले पाकिस्तानसँग भारतलाई जवाफ दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ । यो सन्देश भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि हो कि हामी तयार छौं,’ सैन्य विश्लेषक हसन अस्करी रिजवी भन्छन् ।
शुक्रबार पाकिस्तानी सेनाप्रमुख जनरल सैयद आसिम मुनिरले वरिष्ठ सैन्य कमान्डरहरूसँग भारत–पाकिस्तान तनावबारे छलफल गरेका थिए । उनले सीमाक्षेत्रमा सतर्कता र सैन्य तयारी बढाउन जोड दिएका थिए ।
भारतीय रक्षा स्रोतका अनुसार दुवै देशले नियन्त्रण रेखामा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन् । करिब १.५ करोड जनसंख्या भएको मुस्लिम–बहुल कश्मीर क्षेत्र भारत र पाकिस्तानबीच बाँडिएको छ । तर दुवैले यो क्षेत्र आफ्नो भएको दाबी गरिरहेका छन् ।




प्रतिक्रिया