स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

आईतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले योजनाहरूको छनोट र योजनाहरूको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममुखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘बैठकमा खासगरी सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र जेठ १५ गते आउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेका छौं । नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा आफूलाई लागेका सुझावहरू सबैले दिएका छन् । मूलतः नीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममुखी होस् । विगतमा योजनाहरूको छनोट र योजनाहरूको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ । भद्रगोललाई चिर्दै बजेट आओस् ।’

एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।

‘दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ,’ उनले भने, ‘दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।’

एमालेले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ । आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।