काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच फेरि विवाद उत्पन्न भएको छ ।
दुई पार्टीबीच विवाद उत्पन्न हुँदा गर्भनर नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैठक बस्न सकेको छैन । सोमबारका लागि तय भएको स्थगित भएको छ । यसअघि आइतबार पनि सिफारिस समितिको बैठक स्थगित भएको थियो ।
नेपाली कांग्रेसले भट्ट नभए वैकल्पिक उम्मेदवारको रुपमा नयाँ गर्भनरमा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीको नाम अघि सारेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गर्भनर बनाउन सिफारिस गरेका थिए ।
भट्टको नाममा सत्ताका प्रमुख घटक कांग्रेस र नेकपा (एमाले)बीच सहमति पनि भएको थियो । गर्भनर बन्ने भएपछि भट्टले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको छ ।
सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ ।
एमालेले राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानालाई गर्भनर बनाउन चाहेको छ । प्रधानमन्त्री केपी ओली ढुंगानालाई गर्भनर बनाउने पक्षमा छन् तर सभापति देउवा भने त्यसको विपक्षमा छन् । देउवा भने भट्टको पक्षमा छन् ।
कांग्रेसले गभर्नर सिफारिस गर्दा ज्ञानेन्द्र ढुंगाना र नीलम ढुंगानाको नाम नराख्ने अडान राखेको छ । कांग्रेस सभापति देउवाले वमबहादुर मिश्र, भट्ट र अवस्थीको नाम सिफारिस गर्न भनेको स्रोतले बतायो ।




प्रतिक्रिया