भारत–पाकिस्तान तनाव चर्किंदा नेपालसम्मै तरङ्ग, सरकारको यस्तो तयारी

भारत–पाकिस्तान तनाव चर्किंदा नेपालसम्मै तरङ्ग, सरकारको यस्तो तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानी भूमि प्रयोग गरेर भएको पहलगाम आतंककारी हमलापछि भारत–पाकिस्तानबीच तनाव चर्किंदा नेपालमा उच्च सतर्कता अपनाइएको छ ।

नेपाली भूमि प्रयोग भएर एकअर्का देशविरुद्ध हुनसक्ने गतिविधिप्रति सचेत हुँदै सरकारले उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

भारतले आतंककारीका आश्रयस्थल भन्दै पाकिस्तानी भूमिका दर्जनौं स्थानमा मंगलबार राति आक्रमण गरेको छ, जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । भारतीय सेनाले चलाएको अपरेसनमा परी थुप्रै व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले ‘अपरेसन सिन्दूर’ मार्फत पहलगाम आतंककारी हमलाको जवाफ दिएको छ । तर यसमा पाकिस्तानले समेत प्रतिक्रिया जनाउन सक्ने भएकाले नेपालतर्फ सतर्कता अपनाउन थालिएको छ ।

बुधबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारत–पकिस्तानबीच बढ्दै गरेको तनावबीच नेपालमा पर्नसक्ने असरबारे छलफल भएको छ । बैठकले तीनै सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिएको छ ।

बैठकमा भारत–पाकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल–भारत सीमा सुरक्षा, भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा लगायत विषयमा सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत सहभागी थिए ।

सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले देशैभर विशेष सर्कुलर जारी गर्दै विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्न निर्देशन दिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको जानकारी दिए ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा २ देशको सीमानामा संयुक्त रूपमा गस्ती पेट्रोलिङ र खबर आदानप्रदानलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय सेनाले मंगलबार राति पाकिस्तानमा रहेका आतंककारीका ९ आश्रयस्थलमा आक्रमण गरेको छ । पाकिस्तानी भूमिमा नटेकेरै भारतीय वायु सेनाले १०० किलोमिटर भित्रसम्म आक्रमण गर्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख छ । बहावलपुरमा रहेको जैश–ए–मोहम्मदको मुख्यालयमा बम वर्षा गरेर ध्वस्त पारिएको भारतको दाबी छ । सम्बन्धित देशसँगको समन्वय विना नै आतंककारीका नाममा अर्काको देशभित्र आक्रमण गर्दा भारत–पाकिस्तानबीचको तनाव झन् बढ्ने देखिएको छ ।