काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको जनाएका छन् ।
ट्रम्पले दक्षिण एशियामा दुई परमाणी शक्ति सम्पन्न देशबीच तनाव बढेको भन्दै चिन्ता जनाएका छन् ।
ट्रम्पको उक्त धारणा आएसँगै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि अमेरिका सहयोग गर्न तयार रहेको जनाएको छ ।
पाकिस्तानकी चर्चित महिला शिक्षा अभियन्ता माला युु्फजाईले पनि युद्ध दुवै देशका लागि हानिकारक भएकाले शान्तिको प्रयास गर्नु जरुरी भएको प्रतिक्रिया दिएकी छिन्।
बुधबार बिहान भारतले पाकिस्तानमा प्रहार गरेको हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ । पाकिस्तानको पक्षबाट भएको गोला बारुदबाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।
यी दुई देशबीचको तनावबारे ट्रम्पले दिएको पछिल्लो प्रतिक्रियाले उनी मध्यस्थताका लागि तयार रहेको अडकल काटिएको छ ।
ट्रम्पले भारत र पाकिस्तानबीचको तनाव रोक्नका लागि आफूले केही गर्न सक्ने भए त्यसका लागि तयार रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् । उनले दुवै देशलाई आफूले राम्रोसँग बुझेको र अब यो टकराब रोकिनु जरुरी रहेको बताएका छन् । यसलाई धेरैले अमेरिका मध्यस्थताका लागि तयार रहेको संकेतका रूपमा बुझेका छन् ।
‘यो तनाव निकै भयानक हो । मेरो इच्छा दुवै देशसँग मिलेर काम गरौँ भन्ने छ । उनीहरूले यो टकराब अन्त्य गरुन् भन्ने मेरो चाहना छ । दुवै देश जस्तालाई त्यस्तैको नीतिमा छन् । त्यसैले आशा गर्छु कि उनीहरू अब रोकिनेछन्,’ओभलका पत्रकारहरूसँग ट्रम्पले भने ।
भारतीय मिडियाहरूका अनुसार ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनले यस्तै बयान दिएका थिए तर, त्यसलाई भारतले अस्वीकार गरेको थियो ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका थिए ।




प्रतिक्रिया