प्रचण्डलाई २०८४ चुनावको डर ! निर्वाचन प्रणालीमा खोट देखाउँदै ‘संविधान संविधान अपरिहार्य’

प्रचण्डलाई २०८४ चुनावको डर ! निर्वाचन प्रणालीमा खोट देखाउँदै ‘संविधान संविधान अपरिहार्य’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी केन्द्रको जनआधार लगातार ओरालो यात्रामा छ । यतिसम्मकी भर्खरै राजनीतिमा आएका नयाँ दलहरू समेत माओवादीसँग टक्कर लिने अवस्थामा पुगिसकेका २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले देखाइसकेको छ ।

सशस्त्र द्वन्द्वपछि पहिलोपटक निर्वाचनमा होमिँदा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी २४० मध्ये १२० सिट जितेर पहिलो दल बनेको थियो भने समानुपातिकतर्फ २९.२८ मत ल्याएर माओवादीबाट १०० सांसदले थप प्रतिनिधित्व गरेका थिए ।

यसअघि माओवादीको आरालो यात्रा सुरु भयो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा माओवादीले २४० मध्ये २६ क्षेत्रमा मात्रै जित्यो । समानुपातिकतर्फ १५.२१ मत ल्याएर माओवादीले ५४ सांसदलाई प्रतिनिधित्व गरायो । २०७४ सालमा माओवादी–एमाले गठबन्धन हुँदा १६५ मध्ये ३६ सिटमा माओवादी जित्यो । माओवादीको समानुपातिक मत १५% थियो ।

२०७९ सालमा माओवादी १८ सिटमा खुम्चिएको छ । यसरी माओवादी लगातार ओरालो लाग्दै गएपछि अब २०८४ सालको चुनावमा के होला भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डराउन थालेका छन् ।

माओवादीलाई पहिलो पार्टी बनाउने निर्वाचन प्रणाली ठीकठाक रहेको अवस्थामा अब प्रचण्डले निर्वाचन प्रणाली ठीक नभएको टिप्पणी गर्न थालेका छन् ।

आईतबार धरानमा आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालाहरूको पक्षमा रहेको बताए । ‘यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको छ,’ उनले भने ।

माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन उनले आह्वान गरे । ‘शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौं भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको छ,’ उनले भने, ‘अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौं ।”

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै उनले समावेशी पूर्वाधार विकास अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराए । भूकम्पसँगै मधेशमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेशलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य माओवादी नेतृत्वमा गरिएको उनले दाबी गरे ।

पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,’ उनले भने ।

कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै अविश्वास बढेपछि माओवादी सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएका प्रचण्डले पार्टी, जनता र आन्दोलनलाई सम्झिँदै देश दौडाहा थालेका छन् । यससँगै उनले निर्वाचन प्रणालीलाई दोष दिँदै संविधान संशोधनको अपरिहार्यता महसूस गरेका छन् ।