काठमाण्डु- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले एउटा घटना सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउँदा पुराना पीडितका न्यायका मुद्दा ओझेलमा पर्ने राज्यको प्रवृत्तिमाथि प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै धितालले नागरिकको पीडा पनि घटनाको चर्चासँगै आउने र हराउने अवस्थाले राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको बताइन्।
उनले एउटा घटना सार्वजनिक हुँदा केही दिन चासो र सहानुभूति देखाउने तर नयाँ घटना आएपछि अघिल्लो घटनाका पीडितलाई बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखिन्।
धितालले भनिन्, ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। हामीलाई एक प्रकारले दुःखको लत लागेको छ।’
उनले जेन–जी आन्दोलन, मधेशको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवा बाढीलगायतका घटनाको चर्चा भइरहँदा सुकुमबासीका समस्या र बाढीमा बेपत्ता बालबालिकाको खोजीसमेत ओझेलमा परेको बताइन्। ‘राज्यले पीडितको समस्यालाई तत्कालीन चर्चाका आधारमा होइन, न्याय र जिम्मेवारीका आधारमा हेर्नुपर्छ’, उनले भनिन्।
‘राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन, आफैँ पीडितको टेको बन्नुपर्छ,’ धितालले भनिन्, ‘केही दिनको सहानुभूतिमा मात्र सीमित नभई पीडितको जीवन सामान्य नहुञ्जेलसम्म राज्य परिणाममुखी ढङ्गले उनीहरूको साथमा उभिनुपर्छ।’
धितालले राज्यको उपस्थिति औपचारिकता पूरा गर्नमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरिन्। पीडितको जीवनमा प्रत्यक्ष परिवर्तन आउने गरी राहत, न्याय, पुनःस्थापना र दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
उनले घटनाको तात्कालिक चर्चाभन्दा पीडितले न्याय र राज्यको साथ पाएको सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको बताइन्।




प्रतिक्रिया