काठमाण्डु- चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्व जेठ १० गते चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छिन् ।
समाचार स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीको आसन्न चीन भ्रमणको स्वामित्व सरकारले लिएको र प्रधानमन्त्री केपी ओलीकै सल्लाहमा उत्तर छिमेकी देश जान लागेकी हुन् ।
प्रधानमन्त्री ओलीसँग छलफलपछि भ्रमण तय भएको र सोहीअनुसार भ्रमणको स्वामित्व सरकार र एमाले दुवैले लिने गृहकार्य भएको छ ।
प्रधानमन्त्रीकै चाहनाअनुसार भ्रमणको स्वामित्व सरकार र एमालेले लिने गरी पूर्व राष्ट्रपति भण्डारीसँग जाने ८ सदस्यीय प्रतिनिधिमण्डलको चयन भएको हो । यसकारण प्रतिनिधिमण्डलमा पार्टी र सरकारका प्रतिनिधि राखिएका छन् । पार्टीको विदेश विभाग प्रमुख र क्याबिनेटका मन्त्रीको भ्रमण दलमा सहभागिता रहनेछ ।
भण्डारीसँगै एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदा प्रमुख स्वकीय सचिव रहेका डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट हुनेछन् । भण्डारी, अधिकारी र विष्ट मदन भण्डारी फाउन्डेशनका सदस्यसमेत हुन् । भ्रमण दलमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् । सगरमाथा संवादका लागि काठमाडौं आएका ओली मंगलबार बेइजिङ फर्केका थिए ।
भण्डारीको १० दिने भ्रमणमा औपचारिक द्विपक्षीय नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजना हुने दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा रहने छिन् ।
भण्डारी सुरुमा बेइजिङ, त्यसपछि गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर स्वदेश फर्किने गरी दश दिनको भ्रमण–तालिका तय भएको छ । एमाले सचिव एवं भ्रमण दलका सदस्य महासेठले पूर्वराष्ट्रपतिको भ्रमण १० देखि १९ जेठसम्मका लागि तय भएको बताए ।
‘भ्रमणलाई नेपाल सरकार र हाम्रो पार्टीले सकारात्मक रूपमा लिएका छन् । चीनसँग सम्बन्ध थप सुदृढ गर्न यो भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर हो,’ महासेठले भने । उनले भण्डारीको भ्रमण पूर्वराष्ट्रपतिका रूपमा हुन लागेकोले त्यही अर्थमा लिनुपर्ने पनि बताए ।
कार्यतालिकाअनुसार शनिबार राति काठमाडौंबाट ग्वान्जाओ हुँदै उनी आइतबार बेइजिङ पुग्नेछिन् । आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुने कार्यक्रम छ ।
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबिच सोमबार अपराह्न भेटवार्ता तय भएको छ । तर, शीर्ष नेतासँगको भेटबारे चिनियाँ पक्षले जानकारी दिइसकेको छैन ।
भण्डारीले राष्ट्रपतिको हैसियतम ११ देखि २० वैशाख २०७६ मा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन गएकी थिइन् । यस्तै, राष्ट्रपति रहँदा भण्डारीको निमन्त्रणामा चिनियाँँ राष्ट्रपति सी जिनपिङले २५–२६ असोज ०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।
आफू निकट एमालेका नेताहरूलाई साथमा लिएर चीन भ्रमणमा जानुले भण्डारी सक्रिय राजनीतिमा फर्कनु चाहेको बुझिएको छ ।




प्रतिक्रिया