काठमाण्डु – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालमा सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा भएको छ ।
अध्यक्षसहित अन्य पदका प्रत्यासीहरू अध्यक्ष ओलीको निर्देशन विपरीत निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनमा जोड दिएपछि अन्ततः निर्वाचन हुन लागेको हो ।
महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म जारी रहने छ ।
अध्यक्षका लागि सर्वसम्मत हुन नसकेपछि प्रत्यासीहरू चुनावी मैदानमा उत्रेका छन् । चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारीसमेत दर्ता भइसकेको छ ।
यसअघि ओलीले भने सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए । महासचिव शंकर पोखरेलसहितका नेताहरूले पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उनीहरूले थेबेलाई निरन्तरता दिन चाहेका थिए । तर, पुरीले अध्यक्षमा दाबी नछोडेपछि चुनावको माहोल बनेको हो । पुरीलाई विद्या भण्डारी समूहको साथ रहेको बताइएको छ ।
अध्यक्षका लागि क्षितिज थेबेको नाममा सर्वसम्मत प्रयास भएको थियो । पार्टी निर्देशन अनुसार थेबेको नाममा सर्वसम्मत प्रयास गर्दा निवर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि चुनाव हुन लागेको हो । उनीहरू दुवैले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षका उम्मेदवार थेबे र पुरीले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा उत्रेका छन् । अध्यक्षमा थेबे र पुरीको मात्रै उम्मेदवारी परेको छ ।
चुनावी प्रतिस्पर्धाका लागि ३९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा ९ जना, केन्द्रीय सदस्यमा १५१ जनाले उम्मेदवारी दिएका छन् ।
साथै, विभिन्न ४ वटा विभाग अध्यक्ष, उपाध्यक्ष, सचिव गरेर १६३ पदका लागि पनि उम्मेदवारी परेको छ । निर्वाचनमा १ हजार ७५२ प्रतिनिधिले मतदान गर्नेछन् ।




प्रतिक्रिया