काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
नेताहरू धमाधम पक्राउ परेपछि आईतबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिना शर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ राप्रपाले भनेको छ, ‘गिरफ्तार हुनुभएका नेता–कार्यकर्ताहरूको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।’
निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेप भएकोमा राप्रपाले घोर भत्र्सना गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा. दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ ।’





प्रतिक्रिया