काठमाण्डु – संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्दै छ ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्भ न्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्भ न्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्भ न्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ।




प्रतिक्रिया