काठमाण्डु – संसदको जारी गतिरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।
भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेका छन्। जसका कारण बिहान ११ बजे बोलाइएको संसदको बैठक बस्न सकेको छैन ।
विपक्षीले अडान निरन्तर राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए। उक्त बैठकमा पनि माओवादीले सोही अडान दोहो¥याएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत नाम जोडिएपछि माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी) लगायत दलले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने तयारी गरेका हुन्। संविधानमा नै जेठ १५ गते बजेट सार्वजनिक हुने कार्यतालिका रहेकाले सो दिनको बैठकमा भने उनीहरुले अवरोध गरेनन् ।
सहमतिको पहलस्वरुप सभामुख घिमिरे मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।
गतिरोध अन्त्य गर्दै संसद बैठकमा बजेटमाथिको छलफल चलाउन दिन सभामुखले गरेको आग्रहमा प्रमुख सचेतक पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध कायम राख्ने बताएको सभामुखको सचिवालयले उल्लेख गरेको छ।




प्रतिक्रिया