काठमाण्डु – संघीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यासहित आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र त्यसमाथि छलफल हुनेछ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नेछन्।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। उक्त बैठकमा पनि अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र त्यसमाथि छलफल सुरु हुनेछ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दल लचक भएकोले बुधबारको बैठकले निरन्तरता पाउने देखिएको छ ।




प्रतिक्रिया