काठमाण्डु – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको पनि विभागले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।
बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
एक हप्ताअघि गएको बिहीवार राति पूर्वी भेगबाट मनसुन शुरू भएको थियो । शुरुवातमै सक्रिय भएको मनसुन अहिले भने
केही निष्क्रिय रहेको छ र कोशी प्रदेशमा मात्रै सीमित छ । मनसुन सक्रिय हुन र अरु प्रदेशमा फैलिन केही दिन लाग्ने छ ।




प्रतिक्रिया