काठमाण्डु – दशकौंदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लाग्दै आएको आरोप हो, अख्तियारले ‘ठूला माछा’ पक्रन सक्दैन । २–४ हजार घुस खाने कर्मचारीलाई मात्रै अख्तियारले कारवाही गर्ने र मुद्दा दायर गर्ने गरेको आरोप अख्तियारले खेप्दै आयो ।
तर अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएर आएपछि कार्यपालिकाको नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री, प्रशासनिक नेतृत्व गरिरहेका मुख्यसचिव र विभिन्न व्यापारिक सौदाबाजीमा निर्णायक भूमिका खेल्दै आएका बिचौलियाहरूलाई अख्तियारले एकपछि अर्काे भ्रष्टाचार मुद्दा लगाउँदै आएको छ ।
पछिल्लो समय अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएको विषय चर्चामा छ । पतञ्जलीको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न दिएर पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य समेत हुन् ।
विपक्षी दलहरू र सत्तापक्षकै दबाब र प्रभावबीच उनले नेपाल लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । विगतमा मन्त्रिपरिषद् बैठकका निर्णयलाई मुद्दाको विषय नबनाउने गरिएको भए पनि यसपालि राई नेतृत्वको अख्तियारले मन्त्रिपरिषद्मै प्रवेश गरेर ठूला माछालाई भ्रष्टाचारको टोकरीमा पारेको छ । अख्तियारले मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बित भएको छ ।
राई नेतृत्वमै रहँदा अख्तियारले नेपालको इतिहासमा पहिलोपटक बहालवाला मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका थिए । शक्तिमा रहेकै बेला अख्तियारले अर्यालविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि उनी स्वतः निलम्बित भएका थिए । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अर्याललाई सफाइ दिइसकेको छ ।
राई नेतृत्वमै रहेका बेला अख्तियारले सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेत टेरामक्स प्रकरणमा जोडिएर भ्रष्टाचारमा मुछिएका हुन् ।
आईतबार अख्तियारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध आईतबार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल दुरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
राईको नेतृत्वमै अख्तियारले आन्तरिक राजस्व स्टिकर छपाइको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको थियो । मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै दोषी ठहर गरिसकेको छ ।
यसरी पछिल्लो समय राई नेतृत्वमा अख्तियारले ठूला माछा समेतलाई भ्रष्टाचार मुद्दामा आरोपी बनाउँदै आएको छ । अख्तियारले लामो अनुसन्धानपछि तथ्य–प्रमाण केलाएर भ्रष्टाचार मुद्दा दायर गर्ने गरेको छ ।




प्रतिक्रिया