काठमाण्डु– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन ।
कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटिएको छ ।
सडक अवरूद्धपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् ।
यस्तै सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।
गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी छ ।
यता, बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्वमा मंगलबार बिहानैदेखि सवारी साधन अवरुद्ध भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको डाइभर्सन गएरातिको बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको हो ।
बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन्। साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको छ ।
यस्तै ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया