काठमाण्डु– निर्धारित मितिमा बजेट नल्याएको भन्दै बजेट तर्जुमा तथा कार्यक्रम समितिले काठमाण्डु महानगरका मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ तर निर्धारित मितिमा बजेट नल्याएपछि समितिले मेयर बालेनलाई पत्र काटेको हो ।
महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक-पटक दबाब दिँदा पनि मेयर बालेनले बेवास्ता गरेको समितिको आरोप छ।
आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्न समेत पहल नगरेपछि महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप समितिले लगाएको हो ।
मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिको बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । समितिले बुधबार औपचारिकरुपमा पत्र काटेर बालेनलाई यसबारे ध्यानाकर्षण गराएको छ ।
बजेट तर्जुमा समितिको संयोजक उपमेयर सुनिता डंगोल हुन्। समितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईं, सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयोजक रामजी भण्डारी, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा तथा समितिका सदस्य सचिव सुमित्रा लामिछाने छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृत दिएको आरोप लगाएर मेयर शाहले कार्यालय प्रवेशमै रोक लगाएका थिए । त्यसपछि विवाद चुलिएको हो ।




प्रतिक्रिया