काठमाण्डु – नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनगर्ठन गर्न माग गरेकी छिन् ।
शनिबार लुम्बिनीमा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष माधव कुमार नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।
यसका लागि उनले ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।त्यतीमात्र हैन उनले माधव नेपाललाई मरेको सिनोको संज्ञा समेत दिइन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले माधव नेपाल संकटमा परेको उल्लेख गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ बताएकी छिन् ।
उनले भनिन् :– तपाईंहरूलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्नेरु अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।’ अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेनरु अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’
झाँक्रीले नाम लिइनन्, उक्त पार्टीका दर्जन बढी नेता विभिन्न अभियोगमा तानिएका छन् । कोशी प्रदेशका नेता बलदेव चौधरी, सांसद मेटमणि चौधरीदेखि सुदूरपश्चिमका नेता दीर्घ सोडारीसहित नेता विभिन्न अभियोगमा तानिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए।
पतञ्जलि जग्गा घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनको अभिव्यक्तिले पार्टी भित्र हलचल मच्चिएको छ । पार्टी संस्थापन पक्षधर नेता–कार्यकर्ता उनीप्रति आक्रोशित बनेका छन् । युवा तथा विद्यार्थी नेताहरू सामाजिक सञ्जालमा झाँक्रीविरुद्ध उछितो काढीरहेको बेला शिर्ष नेताहरुले भने मुख खोल्न भ्याएका छैनन् ।
पतञ्जलि जग्गा घोटाला काण्डलाईनै लिएर झाँक्रीले त्यस्तो अभिव्यक्ति दिएको आंकलन गर्न सकिन्छ ।




प्रतिक्रिया