कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिने छ । यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो ।

उनीहरूले जिल्ला जिल्लामा पुगेर ल्याएको पार्टीको वास्तविक अवस्थासम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा छलफल गरी पारित गरेर त्यही अनुसार पार्टीले आगामी दिनका लागि साङ्गठनिक रणनीति बनाउने छ ।

भ्रातृसंस्थाको तदर्थ समितिबारे पनि बैठकमा छलफल हुनेछ । कांग्रेसका ७ भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । ती भ्रातृसंस्थाको म्याद अन्तिम पटकका लागि थप्ने तयारी छ । अन्तिम पटक थपिएको समयमा पनि महाधिवेशन नभए स्वतः भङ्ग गर्ने सहमति कांग्रेसमा बनिसकेको छ ।

क्रियाशील सदस्यताको नवीकरणको एजेन्डामा पनि बैठकमा राखिएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ । त्यो समयसम्म नवीकरण सक्ने र नयाँ कसरी बाँड्ने भन्नेबारे पार्टीले रणनीति बनाउनेछ ।

यस्तै जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

यसैगररी पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ । अन्तिम एजेण्डाका रूपमा समसामयिक राजनीति राखिएको छ ।