विद्याको पुनरागमनले नेताहरू ध्रुवीकृत

विद्याको पुनरागमनले नेताहरू ध्रुवीकृत

ओली र भण्डारीको पक्षमा खुल्न थाले नेताहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्केको उद्घाष गरेपछि एमाले अहिले तरंगित भएको छ ।

भण्डारीको पुनरागमनसँगै एमालेका कतिपय नेताहरू उनी निकट हुन र देखिन थालेका छन् भने पार्टीभित्र ध्रुवीकरणको संकेत देखिन थालिएको छ ।

शनिबार भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी हुन् । देशकै सर्वोच्च पद सम्हालिसकेकी भण्डारीको राजनीतिक पुनरागमनले एमालेभित्र अहिले हलचल मच्चिएको छ । सक्रिय राजनीतिमा आएर उनी पार्टीको नेतृत्व लिने हो कि भन्ने संशय पनि नेताहरूमा उत्पन्न भएको छ ।

हाल सत्तारूढ एमालेभित्र दुई कार्यकाल र ७० वर्ष उमेरको सीमाका विषयमा मतभेद छ । तर ६४ वर्षीया भण्डारीको पुनरसक्रियताले अब एमालेको नेतृत्व कसको हातमा जाने आँकलन पनि सुरु भएको छ ।

२०७२ को संविधान जारी भएपछि राष्ट्रपति बनेकी भण्डारीले पार्टी सदस्यता त्यागेकी थिइन् । तर उनले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको सार्वजनिक पनि गरेकी छन् ।

भण्डारीको पुनरागमनले एमालेभित्र विशेषगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनका नजिकका सहयोगीहरूसँगै पार्टीका धेरै नेता तथा कार्यकर्ताहरू विभाजित भएका भएका छन् ।

वरिष्ठ नेता प्रदीप ज्ञवाली र महासचिव शंकर पोखरेल भण्डारीको सक्रिय राजनीतिको विपक्षमा छन् ।

भण्डारीले विभाजित वाम शक्तिहरूलाई एकत्रित गर्न सक्ने संकेत गरिपछि पनि नेता तथा कार्यकताहरू ध्रुवीकृत हुन थालेका हुन् ।

भण्डारीको पुनरागमनले पार्टीभित्र एउटा धारको नेतृत्व ओली र अर्को धारको नेतृत्व स्वयं भण्डारीले गर्ने संकेत देखिएको छ ।

१९ पदाधिकारीमा को कता ?

एमालेमा १९ जना पदाधिकारीहरू छन् । तर भण्डारी सक्रिया राजनीतिमा आएपछि यी १९ जना पदाधिकारीहरू को कसको क्षिमा लाग्छन् भन्ने चासोका साथ हेरिएको छ । कतिपय नेताहरू धुव्रीकृत भएपनि केही अझै खुलेका छैनन् ।

भण्डारीको पक्षमा ९ र ओलीको पक्षमा ७ पदाधिकारी रहेको दाबी गरिन्छ । २ जना पदाधिकारी अहिले कसैको पक्षमा खुलेका छैनन् । पदाधिकारी पनि रहेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् ।

भण्डारी पक्षीय एक नेताका अनुसार उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भण्डारीलाई साथ दिने सम्भावना छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमा अध्यक्ष ओलीलाई काउन्टर दिइरहेका छन् । त्यसैकारण सम्भवतः उनी पनि भण्डारीकै पक्षमा जाने बलियो सम्भावना छ ।

यी ३ उपाध्यक्षहरू पार्टी विधानमा भएको ७० वर्षे उमेर हद र २ कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा छन् । त्यसैले, उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आँकलन गरिएको छ ।

भण्डारीकै कोटाबाट सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनाइएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि उनकै पक्षमा रहने सम्भावना छ ।

अहिले ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल खुलेर देखिएका छन् ।

भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि पार्टीको नेतृत्व उनले नै सम्हाल्ने विश्वास कतिपय नेताहरूले व्यक्त गरेका छन् । एमालेभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको अवस्थामा भण्डारीको पुनरागमनले यस्तो सम्भावना पनि बढेको हो ।

एमालेले उमेर सीमा र २ कार्यकालको विषय विधान महाधिवेशनमार्फत टुंग्याउने निर्णय गरेको छ । दोस्रो विधान अधिवेशन २०–२२ साउनदेखि ललितपुरको गोदावरीमा हुँदैछ । यही विधान अधिवेशनले पार्टीको ११औं महाधिवेशनको मिति पनि तय गर्नेछ, जसबाट नयाँ नेतृत्व चयन हुनेछ ।

यदि यो विषय लागू भयो भने अध्यक्ष ओलीसहित उपाध्यक्षहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा जस्ता ७० वर्ष नाघेका नेताहरू स्वतः बाहिरिनेछन् । र ६४ वर्षीया भण्डारीको बाटो सहज हुने ठानिएको छ ।

भण्डारीनिकट नेताहरूले विधान महाधिवेशनमा उमेर हद र २ वर्षे कार्यकालका प्रावधान कार्यान्वयन गराउन दबाब दिइरहेका छन् भने ओली पक्षले तिनलाई हटाउन चाहेका छन् । त्यसैले विधान अधिवेशनलाई महत्वपूर्ण मानिएको छ ।

भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि उनले अहिलेसम्म आफू अध्यक्ष बन्ने स्पष्ट घोषणा गरेकी छैनन् । तर उनका निकट नेताहरूले भने उनी त्यसका लागि तयारी गरिरहेको बताइरहेका छन् ।