काठमाण्डु– सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
यस्तै, न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपाललाई समेत अनुमोदन गरेको उनले बताइन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र) ले भने बैठक नै बहिष्कार गरेको थियो । व्यक्तिका नाममा आपत्ति नभएपनि समावेशी हुनुपर्ने माग माओवादीको थियो ।
माओवादी सांसद जनार्दन शर्माले सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको बताए ।
उनले भने, ‘सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको छ । योग्यता पुगेका पात्र हुँदाहुँदै एउटा कोटा खाली गरेर सिफारिस गरिएन । यसरी एउटा उत्पीडित समुदायबाट आउन सक्ने व्यक्तिहरु आउन सक्नु भएन । एउटा दलित समुदायबाट प्रतिनिधित्वको राम्रो सम्भावना थियो तर त्यस्तो व्यक्तिलाई सिफारिस नगरी प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।’




प्रतिक्रिया