काठमाण्डु – सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
आईतबार मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित कच्ची सडक खण्डमा बा१७च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६०० मिटर तल खसेको छ । दुर्घटनामा काठमाण्डुको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् ।
प्रहरी र स्थानीयले घाइतेलाई जिल्ला अस्पताल पुर्याएपछि चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका थिए । २ जना घाइतेको मुगु अस्पतालमै उपचार भइरहेको छ ।


प्रतिक्रिया