काठमाण्डु- काठमाण्डु उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । जसकारकाण बाढीपहिरोको जोखिम बढेको छ । वर्षाका कारण विभिन्न नदी र खोलामा पानीको बहाव बढेको छ ।
काठमाण्डु उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाण्डुको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। दुवै नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढीको जोखिम बढेको विभागले जनाएको छ। बल्खु, मनोहरा, धोबी खोला (कपन र चाबहिल क्षेत्र)मा पनि पानीको बहाव बढेकोले नदी किनार क्षेत्रका बासिन्दा र सडकमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
गौरीघाट–गुह्येश्वरी क्षेत्रमा बागमती नदीको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ।
विभागले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
यस्तै चितवन जिल्लाको कल्याणपुर वर्षा मापन केन्द्र, गोबंदबस्ती तथा आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा मध्यम वर्षा भएको जनाएको छ।
विभागले बुधबार बिहान एक सूचना जारी गर्दै ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित बाढी र पहिरोबाट जोगिन जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
यसैगरी बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ ।
कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ ।
सिन्धुपाल्चोकको धाप गोब्रे मनेखार्क क्षेत्रमा मध्यम वर्षा भएकाले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्नसक्ने भन्दै मेलम्ची बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।
मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा पानीको सतह बढिरहेकोले वरिपरिको स–साना खोलामा आकश्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।
चितवनको विमलनगर, सखर, बन्दीपुर, त्रिशुली (कालीखोला), शक्तिखोर, नारायणी फिल्ड अफिस क्षेत्र आसपासमा मध्यम वर्षा भएकाले आकश्मिक बाढीको जोखिम छ ।
कैलालीको बुढीआम वर्षामापन केन्द्र आसपास स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
सर्लाहीको पत्थरकोट, परवानीपुर क्षेत्रमा पनि मध्यम वर्षा भएकाले तटीय क्षेत्र र होचो भू–भागमा डुवानको जोखिम छ । खोटाङको बाक्सिला, भैँसे, लामिडाँडा क्षेत्र आसपासका खोलामा बहाव बढ्न सक्ने र भिरालो भूभागमा पहिरोको सम्भावना छ ।
बाग्लुङको गलकोट क्षेत्रमा ठूलो वर्षा भएकाले साना खोलाहरूमा आकश्मिक बहाव तथा पहिरोको जोखिम छ । मुस्ताङको कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रले पनि सतर्कता तह पार गर्न लागेको छ । कालिगण्डकी, रौघाट, म्याग्दी खोलालगायतका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।




प्रतिक्रिया