भोटेकोशी बाढी : तिब्बतमा हिमताल फुटेको आशंका

भोटेकोशी बाढी : तिब्बतमा हिमताल फुटेको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रसुवाको भोटेकोशीमा मंगलबार बिहान अचानक आएको भीषणा बाढी वर्षाका कारण नभई कुनै हिमताल फुटेर आएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यस विषयमा अध्ययन हुन बाँकी छ ।

प्रारम्भिक अनुमानअनुसार भोटेकोशी नदीमा बाढी तिब्बतमा कुने हिमताल विस्फोट भएर आएको हुनुपर्छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले भोटेकोशी बाढीपछि गरेको प्रारम्भिक अध्ययनमा हिमताल फुटेको हुनसक्ने बताएको छ ।

ईसीमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको आशङ्का गरिएको बताए ।

ईसीमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बततर्फ रहेको त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो ।

जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएको र बाढीको कारण वर्षा नभएको मंगलबार जनाएको थियो ।

रसुवामा आएको बाढीको ठोस कारण पहिचान गर्न अझै समय लाग्ने तर प्रारम्भिक अनुसन्धानबाट बाढी अत्यधिक वर्षाका कारण नआएको विभागले जनाएको छ ।

भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी टोलीबाट बाढीको वास्तविक कारणको अनुसन्धान हुनुपर्ने विभागले जनाएको छ ।

२०७३ सालको असार २१ गते भोटेकोशीमा आएको बाढी तिब्बतमा हिमताल विस्फोटन भएर आएको भनेर केही महिनापछि स्पष्ट भएको थियो।

तिब्बत, नेपाल र भारत समेटिने तीन मुख्य जलाधार क्षेत्रमा ३,६२४ वटा हिमताल पहिचान गरिएकामा सबैभन्दा बढी कोशी जलाधार क्षेत्रमा २०६४, कर्णाली जलाधार क्षेत्रमा १,१२८ वटा र गण्डकी जलाधार क्षेत्रमा ४३२ वटा रहेको जानकारहरू बताउँछन्। माथिल्ला हिमाली भूभागमा नयाँनयाँ हिमताल बन्ने र फैलने प्रवृत्ति देखिएको पनि उनीहरूको भनाइ छ।

भूकम्प, भारी वर्षा वा अन्य कारणले ती फुट्दा तल्लो तटमा विनाश निम्तने चिन्ता टड्कारो छ। ‘तिब्बतबाट लेदोसहितको बाढी आएको छ र वर्षाका कारण बाढी आएको देखिएको छैन। अर्थात् उताबाट कुनै न कुनै रूपमा धेरै पानी भएको चिज फुट्यो। कुनै हिमताल फुट्यो कि वा पोखरी फुट्यो कि वा बाँध फुट्यो भन्ने हामीलाई थाहा हुन सकेको छैन’, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशीले भने ।

मंगलबार बिहान रसुवामा ल्हेन्देखोलामा अकस्मात् आएको बाढीका कारण कम्तीमा ९जनाको मृत्यु भएको छ भने चिनियाँ नागरिकहित १९ जना बेपत्ता भएका छन् । बाढीले दुई देश जोड्ने मितेरीपुल पनि बगाएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटो पनि बन्द भएको छ।

नेपालको नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी अविरल वर्षासँग नभई हिमताल विस्फोटसँग सम्बन्धित हुन सक्ने सङ्केत गरेको छ।