काठमाण्डु – योग्यता सम्बन्धी विवादमा मुछिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उपप्रधान तथा अर्थमन्त्री र मुख्यसचिवले राजीनामा गर्न निर्देशन दिएको भनी काठमाण्डुपाटी डट्कममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
काठमाण्डुपाटी डट्कमलाई खण्डन पठाउँदै अध्यक्ष ओझाले भ्रामक समाचार प्रकाशित गरिएको दाबी गरेका छन् ।
उनले कुनै पनि कागजात फर्जी पेश नगरेको र आफूले पूर्णकालीन, आंशिक र परामर्श सम्बन्धी काम गरेअनुसार अनुभव प्रमाणपत्र बुझाएको दाबी गरेका छन् ।
‘बीमा ऐनले तोकेको योग्यता पुगेकाले नै संक्षिप्त सूची हुँदै ३ जनामा सिफारिस भएको र ३ जनामध्ये १ जनालाई नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको तथ्यलाई बिर्सिंदै तहाँबाट प्रकाशित समाचारमा ‘अनुभवका कागजात कीर्ते बनाएर नियुक्तिका लागि योग्यता पुर्याइएको’ भन्दै लगाएको आरोप सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई लाञ्छनायुक्त र आक्षेपपूर्ण तरिकाले हतोत्साहित तुल्याउने, मानमर्दन गर्ने र सामाजिक मान प्रतिष्ठामा आघात तुल्याउने दूषित मनसाय प्रेरित रहेको मेरो बुझाइ छ,’ खण्डनमा भनिएको छ, ‘समाचारमा ओझाले पेश गरेका कागजातमा कैफियत भेटिएको उल्लेख भए पनि मैले कुनै पनि कागजात फर्जी पेश नगरेको र आफूले पूर्णकालीन, आंशिक र परामर्श सम्बन्धी काम गरेअनुसार अनुभव प्रमाणपत्र बुझाएको जानकारी गराउन चाहन्छु । मैले कानून अनुसार काम गरी कानून बमोजिम पालना गर्नु पर्ने दायित्व समेत पूरा गरेकाले तहाँको समाचारमा लगाइएको आरोप दूषित मनसाय प्रेरित रहेको छ ।’
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिँदा पूर्णकालीन, व्यवस्थापन कलेज आंशिक अध्यापन गराएको, परामर्शदाता, केही संस्थामा अनुसन्धानकर्ता र कानून व्यवसायीको रूपमा समेत काम गरेको अनुभव पेश गरेको उनले बताए । ‘मैले सन् २०१३ सालदेखि जे जस्तो काम गरे ती सबै विषयको अनुभवका प्रमाणपत्र आवेदनसाथ पेश गरेको थिएँ । पछिल्लो समय मैले कम्पनी ऐन बमोजिम स्थापित चाणक्य मिडिया प्रालिले मलाई वरिष्ठ प्रबन्धक (सञ्चार रणनीतिज्ञ) तथा विशेष संवाददाताको रूपमा नियुक्त लिई ३ वर्ष काम गर्नुको साथै ट्रिनिटी एक्जिम प्रालिमा वरिष्ठ प्रबन्धक (रणनीति तथा सञ्चार) को रूपमा २ वर्ष काम गरेकाले बीमा ऐनले तोकेको ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव रहेको तथ्यमा कुनै द्विविधा छैन,’ उनले भनेका छन्, ‘बीमा ऐनको दफा २ (क्ष) ले गरेको व्यवस्थापन तहको परिभाषा तथा सम्बन्धित क्षेत्रका सम्बन्धमा बीमा ऐनको दफा ७(१), दफा ५७(४) को खण्ड क र ख मा भएको व्यवस्था तथा बीमा ऐनको दफा ८ (१) लाई तुलनात्मक रूपमा अध्ययन नगरी मेरो अनुभव नभएको भनी लगाएको आरोप बदनियतपुर्ण छ । साथैं, सम्बन्धित क्षेत्रका सम्बन्धमा संविधानको धारा २५० को उपधारा ६ व्यवस्थाले समेत मेरो योग्यता सम्बन्धी प्रश्नको जवाफ दिने हुँदा तहाँको समाचारमा लगाइएको आरोप मनोगत रहेको छ । मैले २०७३ सालदेखि नेपालका उत्कृष्ट व्यवस्थापन कलेजको स्नातक तहमा Business Environment in Nepal, International Business, Entrepreneurship Development, Tourism Planning and Policy लगायत विषय अध्यापन गराएको थिएँ । यसका अतिरिक्त कानून व्यवसायीको रूपमा समेत २०७८ सालदेखि आंशिक काम गरेको थिएँ ।’
देशमा बीमा व्यवसायलाई आधुनिक एवम् विश्वसनीय बनाउँदै नयाँ उचाइ दिने उद्देश्यका साथ युवा पुस्तालाई विश्वास गरेर सरकारले दिएको जिम्मेवारी पूरा गर्न इमान्दारीपूर्वक प्रतिबद्ध रहेको उनले जनाएका छन् ।


अध्यक्ष ओझाको नियुक्तिपछि योग्यता सम्बन्धी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो । छानबिनका क्रममा अख्तियारले कैफियत फेला पारेपछि राजीनामा गराउन नियुक्तिकर्ताहरूलाई निर्देशन दिएको र जसअनुसार अर्थ मन्त्रालय तथा सरकारका प्रतिनिधिहरूले राजीनामा गर्न उनलाई निर्देशन दिइसकेको स्रोतको दाबी छ । अध्यक्ष ओझाले निर्देशन नमानेमा सरकारले नै छानबिनका लागि उनलाई निलम्बन गर्ने विकल्पमा पनि छलफल गरिरहेको स्रोतको दाबी छ ।




प्रतिक्रिया