काठमाण्डु- काठमाण्डु महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्नेछ ।
प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो। लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन्द्र शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगर सभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण मेयर बालेन्द्र शाहले कार्यपालिका बोलाएका थिएनन्। उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका मेयर शाह अहिले भने उनी रहेकै अवस्थामा बैठक बोलाउन तयार भएका हुन् ।
नगरसभा बस्न नसक्दा महानगरले वार्षिक बजेट समेत ल्याउन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ ।
शुक्रबार नै महानगर प्रमुखको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।
शुक्रबारको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने तयारी छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने र असारभित्रै बजेट पास गर्ने तयारी छ ।




प्रतिक्रिया