पार्टी एकता गर्ने माधव नेपाल र वामदेवबीच सहमति

पार्टी एकता गर्ने माधव नेपाल र वामदेवबीच सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकीकरण गर्ने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’,सहमतिमा उल्लेख छ ।
२०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।

त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार भएका हुन् ।