काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।




प्रतिक्रिया