काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको राजनीतिमा सक्रिय हुन कुनै छलफल नगरेको खुलासा गरेका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । ठानेको छैन । पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो ।’
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा प्रवेश गर्ने कुरालाई पार्टीले उपयुक्त समयमा निर्णय गर्ने उनले बताए । चीनले नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेकोबारे पत्रकार पाण्डेले सोधेको प्रश्नमा ओलीले भने, ‘नेकपा एमाले गोलबन्द छ त ! फेरि कसलाई ? यो यस्तो हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । एकता गरेर तर मारेका क्रिमियरहरूलाई फेरि ल्याएर पार्टीले के लाभ लिन्छ ? कम्युनिष्ट पार्टीलाई लाइट बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेलाई फेरि ल्याउने ?’
पूर्वराष्ट्रपति भण्डारी पार्टीको उपाध्यक्ष भएका बेलामा राजीनामा गराएर राष्ट्रपति बनाएको स्मरण गर्दै उनले अहिले एमालेको राजनीतिमा फर्किनेबारे केही सल्लाह नगरेको बताए । ‘विद्याजीको हकमा उहाँले कहाँ–कहाँ परामर्श गर्नुभयो । कतै त गर्नुभयो होला, परामर्श नभई पार्टीको अध्यक्ष म छु । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन, म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरौं । म राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? भनेर उहाँले छलफल गर्नुभएको छैन । देशलाई फाइदा हुन्छ कि हुँदैन ? प्रणालीगत हिसाबले के हुन्छ ? भनेर उहाँले सल्लाह गर्नुभएको छैन । फेरि फर्किएर सक्रिय राजनीतिमा आउँदा सर्वमान्य नेताबाट दल विशेषको नेता हुन आउँदा के हुन्छ भन्ने विषयमा विचार विमर्श गरौं भनेर भन्नुभएको छैन,’ उनले भने ।
अरुसँग सल्लाह गरेको भए आफूलाई थाहा नभएको बताउँदै उनले भने, ‘अरुसँग गरेको भए मलाई थाहा छैन । मसँग सल्लाह गर्नुभएको छैन । पार्टीमा आधिकारिक ढंगले छलफल गर्नुभएको छैन । उहाँको विषयमा पार्टीले निर्णय गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले जानुभएको होइन, हामीले पठाएको हो । पार्टी छाडेर जानुभएको हो । त्यसैले पार्टीले निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएर आउँछु भनेपछि आउन हुन्छ कि हुँदैन ? समाज र व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्छ नै । यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ । उहाँ आफैंले विचार गर्नुपर्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिक ढंगले आउँछु भनेका कुराहरू । उहाँसँग हामीले सोध्नुपर्छ ।’
निरन्तर नेतृत्वमा रहेर काम गरेको अनुभव नभएको अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले एमाले हाँक्न नसक्ने उनले बताए ।




प्रतिक्रिया