काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत

काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रक्षा मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको प्रगति लक्ष्यको तुलनामा सन्तोषजनक देखिएको छ ।

मन्त्रालयमा आज आयोजित चालु आवको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत विवरणअनुसार पहिलो त्रैमासमा चालुतर्फ १०४.०९ र पुँजीगततर्फ ४३.२४ प्रतिशत खर्च भएको उल्लेख छ ।

चालु आवमा रक्षा मन्त्रालय र मातहतको निकायका लागि चालुतर्फ ६० अर्ब ३० करोड र पुँजीगततर्फ छ अर्ब २८ करोड बजेट विनियोजन भएको छ । पहिलो त्रैमासमा वार्षिक विनियोजित बजेटको तलुनामा चालु र पुँजीगत गरी २६.८७ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा मन्त्रालयको वार्षिक अनुगमन योजना, २०८३, आव ०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन कार्ययोजना, काठमाण्डु–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको समयावधि मिति २०८६ चैत मसान्तसम्म थप गरिएको छ ।

कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाण्डु–तराई-मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिए। उनले द्रुतमार्गअन्तर्गत काठमाण्डुतर्फको सुरुआती विन्दुका सन्दर्भमा देखिएका समस्या समयमै समाधान गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका योजना तथा अन्तरराष्ट्रिय समन्वय महाशाखाका सहसचिव उदय राना मगरले हालसम्म द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ५०.५४ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत रहेको जानकारी दिए । सो आयोजनाको चालु आवको पहिलो त्रैमास लक्ष्यको भौतिक प्रगति ८०.८९ प्रतिशत र वित्तीय प्रगति ८९.५६ प्रतिशत रहेको छ ।