काठमाण्डु – इन्डोनेशिया प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेको छ ।
यो यस्तो गिरोह हो जसले सन् २०२३ देखि सिङ्गापुरमा कम्तीमा २५ जना शिशुहरूलाई बिक्रि गरिसकेको छ ।
इन्डोनेसियाका अधिकारीहरूले यो साता उक्त गिरोहसँग सम्बन्ध भएका १३ जनालाई इन्डोनेशियाको पोन्टियानाक र टाङ्गेराङ्ग सहरबाट पक्राउ गरेका छन् । तस्करी गर्न लागिएका ६ बच्चाको उद्धार गरेका छन् । उद्धार गरिएका सबै बच्चाको उमेर एक वर्षजति छ ।
‘ती बच्चाहरूलाई पहिला पोन्टियानाकमा राखिन्थ्यो र सिङ्गापुर पठाउनुअघि अध्यागमनका लागि आवश्यक कागजपत्र तयार पारिन्थ्यो,’ वेस्ट जाभा प्रहरीको अपराध अनुसन्धान विभागका महानिर्देशक सुरुवानले भने ।
यस विषयमा सिङ्गापुर प्रहरी र सिङ्गापुरको गृह मन्त्रालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । उक्त गिरोहले बच्चा हुर्काउन नचाहने आमाबुवा वा गर्भवती महिलालाई सम्पर्क गर्थे । केही घटनाहरूमा उक्त गिरोहले फेसबुकमा कुराकानी थाल्ने र पछि गोप्यता कायम गर्न सकिने ह्वाट्स्यापजस्ता माध्यम प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘केही बच्चाहरू त गर्भमा हुँदा नै बुक गरिएका थिए,’ सुरुवानले भने । “बच्चा जन्मिएपछि सुत्केरी हुँदा लागेको खर्च बेहोरिन्थ्यो अनि क्षतिपूर्तिको पैसा दिइन्थ्यो र बच्चा लिइन्थ्यो ।’
उक्त गिरोहका सदस्यमा तस्करी गर्न सकिने, बच्चा खोज्न सक्ने व्यक्तिहरू, हासिल गरिएका बच्चाहरू स्याहारसुसार गर्ने र आफूसँग राख्ने व्यक्तिहरू अनि फर्जी फ्यामिली कार्ड र पासपोर्टजस्ता कागजपत्र बनाउने व्यक्तिहरू थिए ।
आमासँग अलग्ग्याएर बच्चाहरू लगेपछि तिनलाई दुईदेखि तीन महिनाका लागि स्याहारसुसार गर्ने मानिसहरूको जिम्मा लगाउने गरिएको अनि त्यसपछि जकार्ता र अन्ततः पोन्टिनियाक पठाउने गरिएको प्रहरीले बताएको छ । पोन्टेनियाकमा ती बच्चाको जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट र अन्य कागजपत्र बनाइन्थ्यो ।
प्रत्येक बच्चा १.१ करोड इन्डोनेशियाली रुपिया (झन्डै ६७३ अमेरिकी डलर, ५०० पाउन्ड, ९२,००० नेपाली रुपैयाँ) देखि १.६ इन्डोनेशियाली रुपियामा बेचिएको पाइएको छ ।
प्रहरीले पक्राउ गरेका केही सन्दिग्धहरूका अनुसार उक्त गिरोहले इन्डोनेशिया र विदेशमा गरी कम्तीमा १२ बालक र १३ बालिका बेचेको छ ।
बेचिएका अधिकांश बच्चाहरूलाई इन्डोनेशियाको वेस्ट जाभा प्रान्तका विभिन्न जिल्ला र सहरबाट ल्याइएको थियो ।
इन्डोनेशिया प्रहरीले सिङ्गापुरमा ती बच्चा लिने मानिसहरू पत्ता लगाउनु तत्काल आवश्यक रहेको बताएको छ । प्रहरीले संकलन गरेको अधिकांश सूचनाले ती बच्चाहरूको राष्ट्रियता फेरिएको छ ।
तस्करहरूले बच्चाका आमाबुवासँग सहमति गरेर बच्चाहरू हासिल गरेका थिए र अहिलेसम्म कुनै पनि बच्चालाई अपहरण गरेर प्राप्त गरिएको थिएन ।
केही आमाबुवा आर्थिक बोझका कारण आफ्ना बच्चा बेच्न सहमत भएको आशंका गरिएको छ । उनीहरूलाई आर्थिक अपराध गरेको अभियोग लगाउन सकिने इन्डोनेसिया प्रहरीको भनाइ छ ।
इन्डोनेशिया प्रहरीले इन्टरपोल र सिङ्गापुर प्रहरीलाई अझै विदेशमा रहेका उक्त गिरोहका सदस्यहरू तथा बच्चा किन्ने मानिसहरू पक्राउ गर्न सहयोगका लागि अनुरोध गरेको छ ।
बच्चा तस्करी गर्ने गिरोहहरूले प्रायजसो अप्ठ्यारो अवस्थामा रहेका महिलाहरूलाई लक्षित गर्ने गरेको इन्डोनेशियन चाइल्ड प्रोटेक्शन कमिशन (केपीएआई)की आयुक्त आई रहमयन्तीले बताइन् ।
‘उदाहरणका लागि महिलाहरू यौनहिंसाका कारण गर्भवती भएका हुन सक्छन्, पतिले परित्याग गरेका हुन सक्छन् वा विवाह नगरी सहवासबाट अनिच्छित गर्भ बसेको हुन सक्छ,’ उनले भनिन् ।
इन्डोनेशियामा चिकित्सकीय कारणले गर्नैपर्ने भए र बलात्कारबाट बसेको गर्भजस्ता केही अवस्थामा बाहेक गर्भपतन अवैध छ ।
इन्डोनेशियामा बेचिने बच्चाहरूबारे आधिकारिक तथ्यांका छैन । तर मानव तस्करीसम्बन्धी अपराधबारे केपीएआईले संकलन गरेको तथ्यांकले बच्चा तस्करी गर्ने क्रम निरन्तर बढिरहेको देखाउँछ ।
केपीएआईले उठाएकामध्ये एउटा पछिल्लो घटना सन् २०२४ को हो । त्यस बेला डिपोक, वेस्ट जाभा र बालीजस्ता ठाउँमा बच्चाहरू बेचिँदै गर्दा फेला परेका थिए । ती बच्चाहरूलाई विभिन्न मूल्यमा बेचिएको थियो ।




प्रतिक्रिया