रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले गरे आत्महत्या, मेयरको धम्कीपछि तनावमा थिए

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले गरे आत्महत्या, मेयरको धम्कीपछि तनावमा थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार वाचन पनि गर्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट बारम्बार धम्की खेपिरहेका थिए ।

खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धम्की दिँदै गालीगलौज गरेका थिए ।

मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन । घटनाको अनुसन्धान भइरहेको छ ।’