बाढीपहिरोले विभिन्न स्थानको सडक अवरुद्ध

बाढीपहिरोले विभिन्न स्थानको सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षासँगै बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आइतबार उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै ओखलढुंगामा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । सिद्धिचरण नगरपालिका–७, स्कुलडाँडास्थित सडकमा आइतबार बिहान पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध छ । बलेफी गाउँपालिका–८, जुरेस्थित सडकमा माथिबाट लेदो झर्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी पाँचथरमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध छ । याङवरक गाउँपालिका–३, रिजालभीरस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै स्थानीय हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए ।

राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।
यता धनकुटाका दुई निर्माणाधीन सडक अबरुद्ध भएका छन्।

आइतबार बिहान पसाँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सवारी साधन पूर्णरूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

सडक माथिबाट ठूलो पहिरो खसेको कारण बाटो अवरुद्ध भएको हो।

त्यसैगरी, चौबिसे गाउँपालिका-४ मा निर्माणाधीन तमोर करिडोर अन्तर्गत पर्ने छरुवा खोलामा आएको बाढीका कारण सवारी आवागमन प्रभावित भएको छ।

खोलामा पानीको सतह बढेका कारण तत्काल दुवैतर्फ सवारी चलाउन नसकिएको प्रहरीले जनाएको छ। त्यो ठाउँमा फलामेटारबाट प्रहरी टोली परिचालन गरिएको छ।