सन्तोषले प्रत्यक्ष गाए मुक्तक, बन्यो ऐतिहासिक

सन्तोषले प्रत्यक्ष गाए मुक्तक, बन्यो ऐतिहासिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नरोऊ पियारी रुँदा दाग लाग्छ

र, उत्ताउलीझैँ हुँदा दाग लाग्छ

उनी चन्द्रझैँ स्निग्ध, कन्चन, सफा छिन्

नछोऊ कसैले छुँदा दाग लाग्छ ।

गणेशप्रसाद खतिवडाका यी मुक्तक विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले साजबाजसहित गाउँदा हल प्रेमिल बनेको थियो ।

शनिबार काठमाण्डुमा दियालो साहित्य सरगमले आयोजना गरेको ‘वाह ! यस्तो पो मुक्तक !’ कार्यक्रममा नेपाली सांगीतिक इतिहासमै पहिलो पटक छन्द-बहरमा रचना गरिएका मुक्तक प्रत्यक्ष गायन गरियो ।

शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३/३ वटा मुक्तक सन्तोषले साजबाजसहित गाएका थिए । सन्तोषलाई तबलामा रमेश डंगोल र बाँसुरीमा डम्बर खड्काथोकीले साथ दिएका थिए ।

तिमी सोह्र शृंगार लाएर बस्नू

भन्यौ, ‘सुस्तरी छेउ आएर बस्नू’

म आएँ हजुरकै इशारा मुताबिक

छ केके खजाना लुकाएर बस्नू ।

मुक्तककार राधा कणेल यसरी प्रेमिल बनेर पोखिएपछि माहोल साँच्चै ‘वाह !’ बन्दै गयो । त्यही बेला सन्तोष गुञ्जिए शान्ति शर्माका शब्दमा :

समाऊ दह्रो प्रेमका आज हात

जमाऊ नरम ज्यानमा राजकाज

म रोऊँ, कराऊँ कतै भित्र डुब्दै

चलोस् हुन्डरी प्रेमको बस्तीमाझ ।

कणेलसहित सविता बराल, सिर्जना सरोबर र रत्न विरही घिमिरेले ५/५ वटा मुक्तक तरन्नुममा वाचन गरेका थिए ।

प्रमुख अतिथिका रूपमा उपस्थित प्रा.डा. देवी नेपालले नेपालमा छन्द-बहरमा रचित मुक्तकको गायन भएको पहिलो भन्दै यो कार्यक्रम ऐतिहासिक बनेको बताए । छन्द-बहरका गजल गायनको स्वर्ण दशक अभियानमा गजलकार घनेन्द्र ओझा र संगीतकार सन्तोष श्रेष्ठ जुटिरहेका बेला दियालो साहित्य सरगम मुक्तक गायनमा जुट्नु खुसीको कुरा भएको नेपालको भनाइ थियो ।