काठमाण्डु – नेपाली कांग्रेसका पूर्वपदाधिकारीले सभापति शेरबहादुर देउवालाई अबको सभापति उम्मेदवार चयन गर्नुअघि परामर्श गर्न सुझाव दिएका छन् ।
मंगलबार बूढानीलकण्ठ पुगेका ५ नेताहरूले सभापति देउवासँग अब कसलाई सभापति बनाउने भन्नेबारे छलफल गरेका हुन् ।
सोमबार चाक्सीबारीमा ७ नेताहरूको छलफलको निष्कर्ष सुनाउन उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका थिए ।
जवाफमा सभापति देउवाले आफूले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि वचन नदिएको स्पष्ट पारे । नेताहरूले सधैं देउवा पक्षमा लागेकाले आफूभित्रैबाट उत्तराधिकारी छान्न आग्रह गरेका छन् ।
देउवासँगको भेटमा नेताहरूले संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाका पछिल्ला गतिविधिलाई महत्व दिनु आवश्यक नभएको निष्कर्ष निकालेको छ । भेटमा सहभागी एक नेताले भने, ‘कोइरालाका गतिविधि निष्कर्षमा पुग्ने देखिँदैनन्, तसर्थ महत्व दिनु आवश्यक नभएको निष्कर्ष निकालियो ।’
महाधिवेशनबाट कांग्रेसको सभापति बन्न डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भित्रभित्रै तयारी गरिरहेका छन् तर देउवा पक्षबाट सभापतिको साझा उम्मेदवार को बन्लान् भन्ने स्पष्ट खुलिसकेको छैन ।




प्रतिक्रिया