काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै, मटिहानी–६ मा निर्माण सम्पन्न भएको प्रसूतिगृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्।
शुक्रबार नै जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी, बाराको परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न प्रशासकीय भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यसबीच प्रधानमन्त्री ओलीले पनि आफू महोत्तरी र बारा जान लागेको जानकारी दिँदै ‘तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ’शुक्रबार बिहान फेसबुकमा उनले लेखेका छन्, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’
बिहीबार भने व्यस्तताले बाहिर ननिस्किएको उनले बताएका छन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ’, उनले भनेका छन्।
मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसान समस्यामा छन्।





प्रतिक्रिया