संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता भएपछि सभामुख घिमिरेले किन भेटे राष्ट्रपति पौडेललाई ?

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता भएपछि सभामुख घिमिरेले किन भेटे राष्ट्रपति पौडेललाई ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनर्विचारका लागि संसदमै फर्काएको भोलिपल्ट सभामुख घिमिरेले भेट गरेका हुन् । भेटमा उनले विधेयक फिर्ता पठाएकोप्रति चासो राखेका थिए ।

बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक फिर्ता पठाएका थिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपति पौडेलले ५ वटा आधार देखाउँदै विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएका हुन् ।

राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे जेनेभामा हुने कार्यक्रमको बारेमा जानकारी दिन गएको भनिएपनि उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता पठाइएको विषयमा राष्ट्रपतिसँग चासो राखेका थिए ।

सभामुख घिमिरे जुलाई २९ गतेदेखि ३१ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम छ ।

सोही विषयमा राष्ट्रपति पौडेलसँग छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।