काठमाण्डु – नेपाली सेनाको श्रीजङ्ग गणले वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानी वितरण गरेको छ । त्यस क्षेत्रमा पानीको हाहाकार भएसँगै सेनाले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गरेको हो ।
मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको हो । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए ।
वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए ।
गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ ।
नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडि, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण हुँदै आइरहेको छ ।
त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ ।




प्रतिक्रिया