काठमाण्डु– मुगुबाट एक वर्षमा ७४ मेट्रिक टन सिमी बिक्री भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मुगुबाट ४ करोड बराबारको खाद्यबस्तु (चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ ।
गत आर्थिक वर्षमा सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले ४ लाख ९० हजार ढुवानी अनुदान दिएको थियो ।
त्यसैगरी २ सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अग्र्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ । यी बालीको स्थानीय गाउँघरको मूल्य २ करोड सात लाख हुन आउँछ ।
निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालु आवमा सिमी दुवानी अनुदानका लागि ५ लाख र अन्य बाली ढुवानी अनुदानका लागि ३ लाख विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए ।
चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख तेज विक्रम मल्लले जानकारी गराए ।




प्रतिक्रिया