रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ ।
पोखरा महानगरपालिका–३० गगनगौंडामा सोमबार साँझ भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । धनबहादुर हराएकी कमला हायुका श्रीमान् हुन् ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार हायु परिवारका १६ जना सदस्य २ फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना चन्द्र भण्डारीको घरमा रहेका थिए ।
प्रहरीका अनुसार उनीहरू शनिबार बिहानको राति १ बजेतिर सिन्धुलीबाट हिँडेर आईतबार दिउँसो पोखरा पुगेका थिए । त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर होटलबाट चेकआउट गरी हिँडेका उनीहरू सोमबार पोखरा–३० का २ घरमा फेला परेका थिए ।
प्रहरी अनुसन्धान अनुसार उनीहरू शनिबार राति १ बजे सिन्धुली तीनपाटन गाउँपालिका–३ निवासी नवीन विकले चलाएको मधेश प्रदेश ०४–००१–००८१ नम्बरको इभी भ्यान चढेर सिन्धुलीको बलेनीबाट हिँडेको पत्ता लागेको छ । भ्यानमार्फत खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए ।
सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई वस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाई अचानक गाउँ छाडेका थिए ।
उनीहरूले गाउँ छाड्नुको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ । प्रारम्भिक बयानमा परिवारका सदस्यले ‘बेलाबेलामा बिरामी पर्ने समस्या रहेकाले धामीले उक्त ठाउँमा नबस्न सुझाव दिएपछि गाउँ छाडेको’ बताएका छन् ।
सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले हायु परिवार सोमबार बिहानदेखि खोजीमा रहेका बेला साँझ पोखरामा सुरक्षित अवस्थामा फेला परेको बताएका छन् ।




प्रतिक्रिया