ऋण लागेर भागेका होइनौं, बाध्यताले हो : राजु हायु

ऋण लागेर भागेका होइनौं, बाध्यताले हो : राजु हायु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नुपरेको बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान ३ घण्टा लाग्ने भएर बच्चाहरूका लागि गाउँ छाडेको बताएका हुन् ।

उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरू धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई–अढाई घण्टा, स्कूल जान ३ घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’

उनले सञ्चारमाध्यममा आएको जस्तो राति नभई बिहान घरबाट हिँडेको र गाई नपालेको पनि बताए । कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिँडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ ।

पोखरा महानगरपालिका–३० गगनगौंडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

प्रहरीका अनुसार हायु परिवारका १६ जना सदस्य २ फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना चन्द्र भण्डारीको घरमा रहेका थिए ।