काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ ।भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् । चीनतर्फ ठूलो पानी परेर बाढी आएको उनले बताए ।
भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको छ । बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।
स्थानीय प्रशासनले त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।
बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले माइकिङ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली–काठमाडौं प्रसारण लाइनको स्टेशनमा क्षति भएको छ ।
त्यस्तै बाढीका कारण रसुवा–नुवाकोटको सङ्गमस्थल उत्तरगया धाम क्षेत्र डुबानमा परेको छ। यस्तै रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।
गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।
त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो । त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो । मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ ।








प्रतिक्रिया