काठमाण्डु – भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लाको शिलाई गाउँमा एउटा अनौठो विवाहबारे निकै चर्चा र बहस भइरहेको छ।
कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेपछि यसको चर्चा सबैतिर भइरहेको छ ।
विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा ‘जोडीदारा’ वा ‘जाजडा’ भनिन्छ।
यो विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भएका थिए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले पनि विवाह समारोहलाई स्मरणीय बनाएको थियो।
दुलहाहरू र दुलहीको गाउँ १५ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्र प्रदेश राजधानी शिमलाबाट करिब १३० किलोमिटरको दुरीमा पर्छ।
यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलनमा छ। परिवारमा एकता कायम राख्नु र पैतृक सम्पत्तिको भागबन्डा रोक्नु यस्तो विवाहको उद्देश्य भएको बताइन्छ ।
यस प्रथामा एक महिलाले दुई वा धेरै दाजुभाइसँग विवाह गर्छिन् र घरको जिम्मेवारी आपसी सहमतिमा पूरा गर्ने गरिन्छ।
स्थानीयहरू जोडीदारा प्रथा उनीहरूको पहिचान भएको बताउँछन् । यो प्रथाले सम्पत्तिको भागबन्डा रोक्न, दाइजो प्रथाबाट जोगिन, दाजुभाइबीच एकता कायम राख्न तथा सन्तानको पालनपोषण गर्न मद्दत गर्ने गरेको उनीहरूको धारणा छ ।
यो विवाहको एउटा पक्ष के पनि हो भने दुलही तथा उनका दुवै पति पढेलेखेका व्यक्ति हुन्। दुलही सुनीता आईटीआई अध्ययन गरेकी हुन्।
प्रदीप राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्।
आफ्नो विवाहबारे सुनीताले भनिन्, ‘यो मेरो आफ्नै निर्णय हो। मलाई उक्त परम्पराबारे थाहा थियो र मैले यसलाई अपनाएँ।’
त्यस्तै प्रदीप भन्छन्, ‘हाम्रो संस्कृतिमा यसलाई विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्धका रूपमा लिइन्छ।’
कपिलले भने, ‘विदेशमा बस्ने भए पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र आफ्नी पत्नीलाई स्थिरता र प्रेम दिन चाहन्छु।’
जोडीदारा प्रथामा दुलहीको घरबाट दुलहाको घर जन्ती जान्छ। यसैले पनि उक्त प्रथालाई प्रचलितभन्दा भिन्न ठानिन्छ।
हिमाचल प्रदेशमा यो प्रथा औपनिवेशिक कालको राजस्व दस्तावेजमा दर्ता भएको पाइन्छ। उक्त दस्तावेजमा गाउँठाउँका सामाजिक तथा आर्थिक प्रथाहरूलाई दर्ता गर्ने गरिएको र त्यसले ‘जोडीदारा’लाई हाटी समुदायको परम्पराको रूपमा मान्यता दिएको देखिन्छ।
हिन्दू विवाह अधिनियमुले एक पत्नी विवाहलाई वैध मान्ने भएकाले यस किसिमका विवाहको कानुनी स्थितिलाई लिएर प्रश्न उठ्ने गर्दछ।
हिमाचल प्रदेश हाई कोर्टका अधिवक्ता सुशील गौतम भन्छन्, ‘दुवै विवाह एकैसाथ सम्पन्न हुने भएकाले हिन्दू विवाह अधिनियम, १९५५ को धारा ५ र भारतीय न्यायसंहिता बीएनएसको धारा ३२ लागु हुँदैन।’
गिरीपार क्षेत्रमा यो प्रथालाई महाभारतकी द्रौपदीको कथासँग पनि जोडिने भएकाले कैयौँले यसलाई ‘द्रौपदी प्रथा’ पनि भन्छन्।
हिमाचलका पहिलो मुख्यमन्त्री डा. वाईएस परमारले आफ्नो पुस्तक ‘पलियन्ड्री इन द हिमालयाज’मा यो प्रथाको सामाजिक तथा आर्थिक कारणहरूको विस्तारमा चर्चा गरेका छन्।
तर अहिले यो विवाहपछि सामाजिक र नैतिक बहस पनि सुरु भएको छ। केही मानिस यसलाई आपसी सहमति र व्यक्तिगत रोजाइको विषय ठान्छन् भने कतिपय सङ्गठनहरू महिला अधिकारविरुद्धको विवाह ठान्छन्।
‘जोडीदारा’ प्रथाबाहेक उक्त समुदायमा विवाहका चार अन्य पारम्पारिक प्रथाहरू पनि प्रचलनमा छन्। बालविवाहमा गर्भावस्थामै बच्चाको विवाह तय गरिन्छ। तथापि, हुर्केपछि निजको सहमतिपछि मात्रै विवाहको प्रक्रिया पूरा गरिन्छ।
जाजडा विवाहमा वर पक्षले विवाहको प्रस्ताव गर्छ र सहमति प्राप्त भएपछि संस्कार पूरा गरिन्छ। यस प्रथामा पनि सिन्जको प्रक्रिया गरेर विवाह गरिन्छ।
खिताइयो विवाह त्यस्तो परिस्थितिमा हुन्छ जब कुनै विवाहित महिलाले आफ्नो घरसँगको सम्बन्ध तोडेर दोस्रो विवाह गर्छिन्।
कुनै महिलाले परिवारको इच्छाविपरीत गएर कुनै व्यक्तिसँग विवाह गरेमा त्यसलाई हार विवाह भनिन्छ।






प्रतिक्रिया