काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न आफ्ना प्रतिनिधिहरू पाकिस्तान जाने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोष्ट सेयर गर्दै वार्ताका लागि आफ्ना प्रतिनिधिहरू भोलि (सोमबार) पाकिस्तानको इस्लामाबाद पुग्ने बताएका हुन् ।
उनले पोष्टमा लेखेका छन् ‘मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् उनीहरू भोलि साँझ त्यहाँ वार्ताका लागि पुग्नेछन्।’
उनले इरानले होर्मुज जलमार्ग बन्द गर्दा उनीहरूलाईनै घाटा भएको बताएका छन् ।
‘इरानले हालै यो जलडमरू बन्द गर्ने घोषणा गरेको थियो, जुन अनौठो छ, किनकि हाम्रो नाकाबन्दीले पहिले नै यसलाई बन्द गरिसकेको छ। उनीहरूले नजानेरै हामीलाई सहयोग गरिरहेका छन्, र बन्द मार्गबाट घाटा उनीहरूकै हो । दिनको ५०० मिलियन डलर ! संयुक्त राज्य अमेरिकालाई कुनै घाटा छैन। बरु, धेरै जहाजहरू अहिले अमेरिका,टेक्सास, लुइजियाना र अलास्का तर्फ जाँदैछन् ।’
उनले अगाडि लेखेका छन् ‘हामी एकदमै उचित र व्यवहारिक सम्झौता प्रस्ताव गरिरहेका छौं, र म आशा गर्छु उनीहरूले यसलाई स्वीकार गर्नेछन्। यदि त्यसो गरेनन् भने, संयुक्त राज्य अमेरिकाले इरानका हरेक विद्युत् केन्द्र र हरेक पुल ध्वस्त पार्नेछ। अब ‘नाइस गाइ’ बन्ने समय सकियो ! उनीहरू छिट्टै झुक्नेछन्, सजिलै झुक्नेछन्, र यदि सम्झौता स्वीकार गरेनन् भने, जे गर्नुपर्छ त्यो गर्नु मेरो लागि गौरव हुनेछ । जुन काम पछिल्ला ४७ वर्षदेखि अन्य राष्ट्रपतिहरूले गर्नुपर्थ्यो। अब इरानको ‘हत्या मेसिन’ अन्त्य हुने समय आएको छ ।’




प्रतिक्रिया