श्रीलंकन विकेटकिपर सदिरा पोखराबाट एनपीएल खेल्ने

श्रीलंकन विकेटकिपर सदिरा पोखराबाट एनपीएल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा खेल्ने भएका छन् ।

पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समिराविक्रमाको आगमनले पोखरालाई ब्याटिङ र विकेटकिपिङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ ।

सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेका तेस्रो श्रीलंकन र समग्रमा छैटौं विदेशी खेलाडी हुन् । पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनञ्जय लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ ।

यस्तै, पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर अनुबन्ध गरिसकेको छ । जसमा विश्वचर्चित अलराउण्डर शाकिब अल हसन सबैभन्दा ठूला खेलाडीका रूपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्मद सैफुद्दिन र स्पिन बलिङ अलराउण्डर महेदी हसन पनि अनुबन्ध भएका छन् ।

विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेस्ट, ५५ ओडीआई र १९ टी २०आई खेलिसकेका छन् ।

यस्तै, लंका प्रिमियर लिगमा उनले चार फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वकपमा श्रीलंकाको टिममा समावेश थिए ।

क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरका रूपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोयल्ससँग एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ ।

पोखराले यस पटक मुख्य प्रशिक्षकमा पनि परिवर्तन गर्दै श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीमा पनि यस पटक नयाँ खेलाडी आएका छन् । यस्तै, भारतीय पूर्वक्रिकेटर तथा टी२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।