रोजगारीबाट फर्किएकालाई स्वदेशमै स्थापित गराउने योजना छ : कार्यकारी निर्देशक उप्रेती

रोजगारीबाट फर्किएकालाई स्वदेशमै स्थापित गराउने योजना छ : कार्यकारी निर्देशक उप्रेती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरूलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरूले ल्याएको सीपलाई प्रमाणीकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।

उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरूलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एकपटक गइसकेको व्यक्ति पुन: जानु नपर्ने अवस्था निर्माण गर्ने गरी उद्यमशिलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरूले ल्याएको सीपलाई प्रमाणीकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ ।’

वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै उनले राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेर बताए ।

उनले भने, ‘विदेश जानुपूर्व सीपमूलक तालिमहरू दिने, गइसकेपछि अप्रिय घटनाहरू हुन सक्छन् । घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेलमा पर्ने, एउटा काम भनेर लाने अर्को काम गराउने खालको अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डको हो । यो चरणको हिसाबले दोस्रो चरणको काम भए पनि क्रियाकलापको हिसाबले सबैभन्दा महत्वपूर्ण र प्राथमिकताको हिसाबले, पहिला प्राथमिकताको काम भनेकै राहत, उद्धार र कल्याणकारी काम नै हो ।’

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरूले एपबाट नै पढ्न मिल्ने खालको पाठ्यक्रम निर्माणको तयारी गरिरहेको भन्दै उनले यसलाई अलि व्यवस्थापन गर्न सके घाइते र मृत्यु हुने दर कम हुने विश्वास व्यक्त गरेका छन् । सोही अनुसारको बजेटको कार्यक्रमहरू पनि बनाएको उनको भनाइ छ ।