काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेतृत्व पुस्तान्तरण हुन नसकेकाले नेपाली कांग्रेसप्रति आमजनताको अविश्वास बढ्दै गएको बताएका छन् ।
बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै उनले लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको आम जनताको अविश्वास बढेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रक्रियाको सन्दर्भमा एकदमै परिणाममुखी ढंगबाट हामी अगाडि बढ्न सकिरहेका छैनौं । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली कांग्रेसप्रति आमजनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’
नीतिगत पक्षबाट युवाहरूले हस्तक्षेप गर्नुपर्ने भन्दै उनले पुस्तान्तरणको नयाँ विकल्प नीतिगत हुने बताए । ‘अब पुस्तान्तरण गर्नका लागि प्रक्रियाभन्दा फरक ढंगबाट नेतृत्व चयन हुने स्थिति पनि हुँदैन । हामीले नीतिगत पक्षबाट हस्तक्षेप गर्न सकिएन कि नीतिगत पक्षबाट विकल्प हो भनेर आउन सकिएन कि विश्वास जित्न सकिएन कि त्यो पक्षलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।




प्रतिक्रिया